दमाैली, १८ जेठ । तनहुँमा विश्व खाद्य स्वच्छता दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । खाद्य पदार्थमा स्वच्छता ः विज्ञानको अपरिहार्यता भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा यो दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो ।
दिवसको पहिलो दिन आज कार्यालय परिसरमा सरसफाइ गरिएको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए। त्यस्तै म्याग्दे गाउँपालिकामा जनचेतनामूलक फ्लेक्स टाँसिएको छ । जेठ २४ गते मनाइने स्वच्छता दिवसका अवसरमा जिल्लाभर विविध कार्यक्रम गरिने आचार्यले जानकारी दिए ।
म्याग्दे गाउँपालिकामा टाँस गरिएको सचेतनामूलक फ्लेक्समा स्वच्छ खाऔ ः स्वस्थ बनौ, लेबल विवरण नभएका तथा उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थ खरिद तथा विक्री वितरण नगरौ, फोहरमैला, झिङ्गा भन्किएका तथा दुर्गन्धित ठाउँमा खानेकुरा तयार नगरौ जस्ता सचेतनामूलक सन्देश समावेश छ ।
दिवसकै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत थर्पुमा सञ्चालित दोस्रो थर्पु महोत्सवमा रहेका खाद्य पदार्थका स्टल निरीक्षण गरिएको छ । त्यसक्रममा म्याद नाघेका अन्दाजी आठ हजार बढीका खान अयोग्य फ्लेवरहरु तथा पटक पटक तारिएको करिब दुई लिटर तेल नष्ट गरिएको छ ।