मह र मासमा अनुदान पाएपछि ऑबुखैरेनीका कृषक उत्साहित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मह र मासमा अनुदान पाएपछि ऑबुखैरेनीका कृषक उत्साहित

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८२, बुधबार

    दमौली, २८ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई मह र मास उत्पादनमा अनुदान दिएपछि कृषक उत्साहित बनेका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत कृषकलाई प्रोत्साहत गर्ने उद्धेश्य सहित गाउँपालिकाले मह र मासमा अनुदान दिन थालेको हो ।

    कृषकलाई मह र मास खेतीमा आकर्षित गर्ने उद्धेश्यसहित पालिकाले प्रति किलो रु २५ का दरले अनुदान दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका–४ र ५ का कृषकले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु तीन लाख ९३ हजार चार सय ५० अनुदान पाएका छन् ।

    कृषकले उत्पादन गरेका मह र मास विक्रीका लागि हाटबजारसमम ढुवानीको व्यवस्था पालिकाले मिलाएको केसीले बताए । गाउँपालिकाले मास र मह उत्पादक कृषक र उपभोक्तालाई जोड्ने काम गरेको उनको भनाइ छ ।

    उनले भने, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । कृषकलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो । प्रति किलो रु २५ का दरले अनुदान दिन्छौ ।”

    चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ कृषकले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध कृषकले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु १७ हजार सात सय अनुदान पाएका छन् ।

    त्यस्तै आँबुखैरेनी गाउँपालिका–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध कृषकले दुई हजार सात सय ९७ किलो मास उत्पादन गरेबापत रु ६९ हजार नौ सय २५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी गाउँपालिका–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध कृषकले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी गाउँपालिका–५ स्थित खोला गाउँ कृषक समूहमा आबद्ध कृषकले दुई हजार पाँच सय ९० मास उत्पादन गरेबापत रु ६४ हजार सात सय ५० अनुदान पाएका छन् ।

    आँबुखैरेनी गाउँपालिका–५ स्थित इन्द्रदेवी कृषक समूहमा आबद्ध कृषकले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु २६ हजार दुई सय ५० अनुदान पाएका छन् ।

    आँबुखैरेनी गाउँपालिका–५ स्थित भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध कृषकले छ हजार सात किलो मास उत्पादन गरेबापत रु एक लाख ५० हजार एक सय ७५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध कृषकले एक हजार सात सय ३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु ४३ हजार पाँच सय ७५ अनुदान पाएका छन् ।

    खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले कृषक आकर्षित भएको बताइन् ।

    भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले कृषकलाई कृषि पेशामा आकर्षित गराउने बताइन् ।