बन्दीपुरमा चितुवा नियन्त्रणमा लिन विभागबाट प्राविधिक खटाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा चितुवा नियन्त्रणमा लिन विभागबाट प्राविधिक खटाइयो

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    दमाैली, ३० जेठ । तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट पछिल्लो दुई महिनाको अवधिमा दुई बालबालिकाको मृत्यु भएपछि नरभक्षी चितुवा नियन्त्रणका लागि प्राविधिक खटाइएको छ ।

    डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट डार्टिङ टोली खटिएको जानकारी दिएको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहभागितामा गस्ती टोली समेत परिचालन गरिएको यहाँ डार्टिङ टोली परिचालन गरी चितुवा नियन्त्रणमा लिएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख शरद अधिकारीले जानकारी दिए ।

    चितुवाको आक्रमणबाट गत सोमबार साँझ बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेको बेला चितुवाले गुरुङलाई आक्रमण गरेको थियो । यस्तै चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो ।

    डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ । त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न स्थानीयवासीलाई आग्रह गरिएको जनाइएकाे छ ।

    तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो आठ वर्षको अवधिमा १६ बालबालिकाले ज्यान गुमाएका छन् ।