काठमाडाैं, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।
निर्धारित २० ओभरको खेल टाइ भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाइ भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मारेको हो ।
पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएको थियो ।
दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो ।
तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । १ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो ।
त्यसअघि निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो ।