काठमाडाै, १५ असार । नेपाली यू-१६ टोलीले थाइल्यान्डमा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा इन्डोनेसिया विरुद्ध प्रभावसाली जित हासिल गरेको छ।
आइतबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको थियो।
४ सय २१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा केवल ५० रन जोड्दा अलआउट भयो।
इन्डोनेसियाका लागि दुइ ब्याटरले मात्र दोहोरो स्कोरमा रन बनाए। उसका लागि केभिन निरज चड्डाले १५ रन बनाउँदा डेभिट नन्दनले १४ रन बनाएका थिए। अन्यको प्रदर्शन भने गतिलो रहेन्।
इन्डोनेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विपिन प्रसाद शर्माले ६ विकेट लिंदा सुगम बुढाथोकी र शुभंम खनालले १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालको उच्च स्कोरमा ओपनर प्रसिद्ध जैशीले ११४ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ३२ रन बनाए।
त्यस्तै अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाउँदा रौनक श्रीवास्तवले ८८ रन बनाएका थिए। त्यस्तै जोस थापाले ५७ रन बनाए। नेपालका लागि जैशीले शतक प्रहार गर्दा अन्य तीन ब्याटरले अर्धशतकीय इनिङ खेले। त्यस्तै सुगम बुढाथोकी ३९ रनमा अविजित रहे। उनलाई रोशन जोशीले १० रनमा साथ दिए। इन्डोनेशीयाका लागि केटुट दर्मा पुटराले २ विकेट लिंदा कभिन निरज चड्डा, महेन्द्रअजी युद्ध प्रतमा र रहान रिजा अथालिकाले समान १-१ विकेट लिए।