मेस्सीको दुई गोलसँगै मियामीको सहज जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीको दुई गोलसँगै मियामीको सहज जित

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    एजेन्सी, ४ साउन । अर्जेन्टिनी स्टार लियोनल मेसी पछिल्लो समय झनै लयमा देखिएका छन् । मेजर लिग सकर (एमएलएस)को हरेकजसो खेलमा उनले गोल गरेका छन् । एमएलएसको आइतबार बिहान सम्पन्न खेलमा पनि इन्टर मियामीलाई जिताउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

    मेसीकै दुई गोलको मद्दतमा इन्टर मियामीले न्यू योर्क रेड बुल्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा खेलको प्रारम्भमै अग्रता लिएर पनि न्यू योर्क रेड बुल्सले त्यसलाई जोगाउन सकेन ।

    खेल शुरू भएको १४ औं मिनेटमा एलेक्डेन्डर ह्याकले गोल गरेका थिए । २४ औं मिनेटमा जोर्डी अल्बाले इन्टर मियामीका लागि जवाफ गोल फर्काए । २७ औं मिनेटमा टेलास्को सेगोभियाले इन्टर मियामीको अग्रता दोब्बर बनाएका थिए ।

    पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सेगोभियाले व्यक्तिगत रूपमा दोस्रो गोल थपेपछि इन्टर मियामी ३–१ ले अगाडि बढेको थियो । दोस्रो हाफमा पनि पूरै समय इन्टर मियामीले न्यू योर्क रेड बुल्सलाई दबाबमा राखेको थियो । निर्धारित समयको ६० औं मिनेटमा ३८ वर्षीय मेसीले इन्टर मियामीका लागि चौंथो गोल गरेका थिए ।

    ७५ औं मिनेटमा मेसीले नै टोलीका लागि पाँचौं तथा अन्तिम गोल थपेका थिए । इन्टर मियामी अंक तालिकाको पाँचौं स्थानमा आसिन छ । इन्टर मियामीले २१ खेलबाट ४१ अंक बटुलेको छ । इन्टर मियामीले हालसम्म १२ जित, पाँच बराबरी र चार हारको नतिजा निकालेको छ । न्यू योर्क रेड बुल्स भने २४ खेलबाट ३३ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ ।