दमाैली, ४ साउन । तनहुँ जिल्लामा नेकपा (एमाले) को सङ्गठित सदस्य वृद्धि भएको छ । यस वर्ष ११.६८ प्रतिशतले पार्टीको सङ्गठित सदस्य बढेको हो । जिल्लामा पार्टीको सङ्गठितको सङ्ख्या पाँच हजार दुई सय ६७ पुगेको छ ।
यस वर्ष सात सय चार जनाले नयाँ सदस्यता लिएको नेकपा (एमाले) तनहुँका सचिव प्रदीपराज अधिकारीले जानकारी दिए । जिल्लाका दशवटै स्थानीय तहमा पार्टीप्रति आकर्षण बढेका कारण सात सय चार जनालाई नयाँ सदस्यता वितरण गरिएको उनको भनाइ छ ।
अधिकारीका अनुसार भानुमा एक सय १४, व्यासमा ६५, आँबुखेरेनीमा ५३, देवघाटमा १४, बन्दीपुरमा पाँच, शुक्लागण्डकीमा एक सय ९३, म्याग्देमा ३१, भिमादमा एक सय ७५, घिरिङमा १८ र ऋषिङमा ३६ नयाँ सदस्यता थपिएका छन् ।
विसं २०८१ मा सङ्गठित सदस्यको सङ्ख्या चार हजार सात सय १६ रहेकामा २०८२ मा चार हजार पाँच सय ६३ जनाले नवीकरण गरेका छन् । नवीकरण गर्ने सङ्ख्या दुई प्रतिशत कम हुनुमा केही सदस्यले अन्यत्र जिल्लामा स्थानान्तरण गरेको, केहीको मृत्यु भएको र केही निस्कृय रहेको अधिकारीले बताए ।
अधिकारीका अनुसार भानुमा छ सय ९५, व्यासमा सात सय चार, आँबुखैरेनीमा एक सय ५३, देवघाटमा एक सय ३३, बन्दीपुरमा दुई सय ३३, शुक्लागण्डकीमा आठ सय ७४, म्याग्देमा दुई सय ५७, भिमादमा नौ सय ९७, घिरिङमा तीन सय ७५ र ऋषिङमा एक सय ४२ जनाले पार्टी सदस्यता नवीकरण गरेका छन् ।