बन्दीपुरमा आजदेखि बोलबम जात्रा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा आजदेखि बोलबम जात्रा सुरु

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८२, सोमबार

    दमौली, ५ साउन । बन्दीपुरमा शिव महिम्नाहा उत्सव अन्तर्गत आजदेखि बृहत बोलबम जात्रा सुरु भएको छ।

    बन्दीपुर गाउँपालिका–४ मर्स्याङ्दी दोभानस्थित शिवालय मन्दिरबाट बिहान ९ बजे जात्रा सुरु भएको हो। बोलबम यात्रीहरूले उक्त स्थानबाट बोलबमको पानी बोकी बन्दीपुर केवलकारको बटम स्टेसनमा रहेको तान्त्रिक शक्तियुक्त सिद्धेश्वर महादेव मन्दिरमा रुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ। त्यसपछि भजन, कीर्तन र झाँकीसहित केवलकार चढेर माथिल्लो स्टेशनतर्फ गएका तीर्थालुहरूले खड्गमाई मन्दिरमा पूजा तथा परिक्रमा गर्नेछन्।

    जात्राको मुख्य आकर्षणका रूपमा बन्दीपुरमा अवस्थित १२०० वर्ष पुरानो तीनधारा स्थित तीनधारे ज्योतिर्लिङ्ग मन्दिरमा महापूजन, महाश्रद्धा अभिषेक तथा शिव महिमा वाचन कार्यक्रम आयोजना गरिएको मूल आयोजक समिति शिव महिम्नाहा उत्सवका महासचिव लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए।

    शिव महिम्नाहा उत्सव अन्तर्गतको बोलबम जात्राको प्रवर्धन आदियोगी प्रज्ञा धाम, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सहकार्यमा गरिएको हो। तीर्थालुहरूका लागि धार्मिक यात्रामा सहयोग पुर्‍याउन केवलकारको टिकट मूल्य मात्र २०० रुपैयाँ तोकिएको छ। वृद्ध तीर्थालुहरूका लागि भने टिकट निःशुल्क गरिएको बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले जानकारी दिए।

    जात्रा साउन महिनाभरि प्रत्येक सोमबार सञ्चालन हुने साथै दैनिक रूपमा सन्ध्या आरती भइरहेको र बोलबम यात्रालाई धार्मिक आस्थासँगै पर्यटन प्रवर्धनमा योगदान दिने माध्यमका रूपमा लिएको बन्दीपुर केवलकार ऐन टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन्।