उच्च अदालतमा रिट परेपछि तनहुँमा लेखापढीकाे परीक्षा स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उच्च अदालतमा रिट परेपछि तनहुँमा लेखापढीकाे परीक्षा स्थगित

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८२, मंगलवार

    दमौली, ६ साउन । लेखापढी व्यवसायीको परीक्षाको नाममा बढी शुल्क लिएको भन्दै तनहुँ जिल्ला बार एशोसिएसन विरुद्ध उच्च अदालत पोखरामा रिट दर्ता भएपछि लेखापढी प्रमाणपत्रकाे परीक्षा स्थगित भएकाे छ ।

    तनहुँ जिल्ला बार एशोसिएसन र अध्यक्षविरुद्ध कानुनका विद्यार्थी अखिल खरेल, सेख अटिलाह, राजन गोसाई सन्यासी, विप्लव पौडेल र समिर थापा मगरको समूहले साेमबार पोखरा उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

    तनहुँ अदालतले मङ्गलबार सूचना जारी परीक्षा स्थगित भएकाे जनाएकाे छ । परीक्षा स्थगित हुनुकाे मुख्य कारण रिट दर्ताका कारण भएपनि अदालतले भने वार्षिक प्रतिवेदन, वार्षिक कार्ययाेजना निर्माण गर्नुपर्ने लगायतकाे आन्तरिक कार्य व्यस्तता र माैसमकाे प्रतिकूलताकाे कारणले अर्काे सूचना नभएसम्मका लागि साउन १० गतेकाे परीक्षा स्थगित गरेकाे जनाएकाे छ ।

    बार एशोसिएसनले लेखपाढी प्रमाणपत्र जारी गर्दा अत्यधिक शुल्क लिएको निवेदनकर्ताको आरोप छ । सङ्घले जारी गरेको आधिकारिक सूचना अनुसार प्रमाणपत्रको लागि तोकेको शुल्क रु १०० रहेको छ । तर, एसोसिएसनले रु ५०० लिएको जुन मनोमानी, गैरकानुनी रहेको दावी गरिएको छ ।

    तनहुँ जिल्ला बार एशोसिएसन र अध्यक्षलाई आधिकारिक शुल्क संरचनाको पालना गर्न र आवेदकबाट लिइएको रकम फिर्ता गर्न बाध्य पार्न उच्च अदालतबाट आदेश माग गरिएको छ।