


दमौली, ६ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले म्याग्दे गाउँपालिका–६ मनपाङमा वृहत वृक्षारोपण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मनपाङमा वृहत वृक्षारोपण गरेको हो ।
वृहत वृक्षारोपण अभियान अन्तर्गत मंगलबार १५ हजार बिरुवा रोपिएको छ । यहाँ विभिन्न प्रजातिका फलफूल लगायतका २० हजार बिरुवा रोपिने कम्पनीका मानव संशाधन प्रमुख अन्जन दुवाडीले जानकारी दिए । कम्पनीले पर्यावरण तथा दिगो विकास संस्थासँगको सहकार्यमा उक्त बृक्षारोपण कार्यक्रम गरेको दुवाडीले बताए ।
वृक्षारोपण कार्यक्रममा कम्पनीका कारखाना प्रमुख बाबुराम कार्की, विभागीय प्रमुखहरु गौतम यादव, राजु पौडेल, हुमनाथ अर्याल, म्याग्दे–६ का अध्यक्ष हिरा गुरुङ, दिगो विकास केन्दका प्रमुख रवि आचार्यको सहभागिता थियो ।
सूर्य नेपाल प्रालिले यस क्षेत्रमा दिगो विकासलाई लक्षित गरी आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम मार्फत् विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, फोहर व्यवस्थापन, आय आर्जनमुलक कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ ।