दमौली, ८ साउन । व्यास नगरपालिका-३ तरकारी लाइनस्थित पिन्टु (काले) किराना पसलका सञ्चालक विरुद्ध पॉच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जना विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहारमा पॉच दिनको म्याद थप गरेको हो ।
प्रहरी नायब उपरिक्षक अशोक थापाका अनुसार जवाहित साह, मायादेवी साह र राजु साहलाई पॉच दिनको म्याद थप गरिएको छ ।
प्लाष्टिक झोला अनुगमनका क्रममा बुधबार व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई तथानाम गालीगलौच गर्ने उनीहरुलाई बिहीबार नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । बिहीबार नै सो पसल बन्द गराइएको छ ।
नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिंह नेपालीको नेतृत्वमा बुधबार प्लाष्टिक झोला अनुगमनका क्रममा पुगेको टोलीमाथि उनीहरुले दुर्व्यवहार गरेका थिए ।