सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८२, शुक्रबार

    दमाैली, ९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।

    तनहुँको देवघाट गाउँपालिकाले शुक्रबार आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ र बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन् मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन चालु संसद् अधिवेशनमा पारित हुने बताइन् ।

    मन्त्री न्यौपानेले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउँदै गरेको बताउँदै गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिसकेको उल्लेख गरिन् । उनले भनिन्, “निजामती ऐन आइसकेपछि धेरै समस्या समाधान हुनेछन् । त्यसलाई छिटो जारी गर्नुपर्छ भनेर सरकार त्यही ढङ्गबाट अगाडि बढेको छ ।”

    मन्त्रालयका छ वटा महाशाखा र १९ वटा शाखामा भइरहेका समस्याको बारेमा आफूले जानकारी लिएको बताउँदै त्यसलाई क्रमशः समाधान गर्दै लगिने मन्त्री न्यौपानेले बताइन् । तीन तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै देश विकास सम्भव रहेको बताउँदै मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ गर्नुको विकल्प नरहेको चर्चा गरिन् ।

    देशका सबै स्थानीय तहमा भइरहेको कर्मचारीको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनकाे भनाइ थियो । मन्त्री न्यौपानेले देवघाट ऐतिहासिक एवं धार्मिक गन्तव्यस्थल भएकाले यसको विकासका लागि सङ्घीय सरकारले ध्यान दिने प्रतिबद्धता जनाइन् ।

    त्यसक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भइरहेको बताए ।