समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक : मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक : मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८२, शनिबार

    दमौली, १० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने उल्लेख गरिन् ।

    तनहुँको विकास र समृद्धिमा सबैबीच सहमति आवश्यक रहेको बताउँदै उनले भनिन्, “दलगत आस्थाभन्दा माथि उठेर काम गर्नुपर्छ । विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।”

    मन्त्री न्यौपानेले व्यावसायिक हकहितका लागि अनवरुत रुपमा लागिरहनुभएका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन् । उनले भनिन्, “समाज परिवर्तनका लागि लागिरहनुभएका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु, नेपाल सरकारको प्रतिनिधिको हैसियतले यहाँहरुको समस्या समाधानमा म सधैं लागिरहनेछु ।”

    कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा व्यवसायी मर्कामा परेको बताए । सङ्घका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बन्न नसके देशको अर्थतन्त्र पनि सुधार हुन समस्या पर्ने चर्चा गरे ।