


दमौली, १५ साउन। तनहुँको बन्दीपुर-५ याम्पाढाब निवासी भिमबहादुर क्षैत्रीलाई २९ वर्षकै उमेरमा रोगले गाल्न थाल्यो , उनी उपचारका लागि धेरै अस्पताल धाए तर रोग पत्ता लागेन । उनीलाई आफन्तले सल्लाह दिए एक पटक भरतपुर क्यान्सर अस्पतालमा जँचाउन , उनले त्यसै गरे ब्लड आखिर ब्लड क्यान्सर रोगले गालिसकेको थाहा पाए, उनी छाँगाबाट खसे जस्तै भए ।
परिवार कसरी पाल्ने ? ७ वर्ष र ३ वर्षकी दुई छोरीको लालनपालन र शिक्षादिक्षा कसरी गराउने भन्ने चिन्ताले पिरल्यो तर हिम्मत भने हारेनन् । उनको परिवार पृथ्वीराजमार्गको ढाबमा एक सामान्य होटल व्यवसाय गरि बसेको थियो । छोरीहरुको लालनपालन , शिक्षादिक्षा र औषधि उपचार गर्नु पर्ने बाध्यता उनी माथि आईपरेपछि होटल सँगसँगै बाख्रा पालन व्यवसायमा हात हाले ।
यो अवस्थामा श्रीमती ममताको साथले होष्टेमा हैंसे गर्न थप मद्धत मिल्यो । छोरीहरु साना, रोगको लागिऔषधि भारतबाट मगाउनु पर्ने त्यहिँमाथि महंगो । छोरीहरु जेठी निशा र कान्छी अनिशा पढाईमा निकै जेहेन्दार र उत्कृष्ट थिए । त्यसैको फलस्वरूप उनीहरु हाल उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन् ।
ब्लड क्यान्सर जस्तो रोगसँग १८ वर्षसम्म जुध्दै बुधबार राति ४७ वर्षको उमेरमा उनी सधैंका लागि अस्ताए । मृत्यु अघि बिरामीले गालेपछि अस्पतालमा भर्ना भएका बुबाको उपचार गर्न उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका दुई बहिनी छोरीहरु आए तर उनको अवस्था निकै नाजुक भैसकेकाले उपचार सम्भव भएन ।
समाजमा छोराले मात्रे बुबाअमाको काजकिरिया गर्छन भन्ने भ्रम चिर्दै बुबाको मृत्युपछि छोहरुहरु २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले घरदेखि घाटसम्म काँधमा बोकेर पुर्याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् ।