


दमाैली, २३ साउन । तनहुँ समाज हङकङले विभिन्न रोगबाट पीडित भएकाहरुलाई रु पाँच लाख २५ हजार आर्थिक सहयोग गरेको छ । रोजगारीका सिलसिलामा हङकङमा रहेका तनहुँवासीहरुबाट सङ्कलित रकम शुक्रबार दमौलीमा आयोजित एक कार्यक्रमका बीच पीडितलाई हस्तान्तरण गरिएको छ ।
समाजले मिर्गौला पीडित ऋषिङ गाउँपालिका–६ बस्ने पदमबहादुर आले, मिर्गौला पीडित म्याग्दे गाउँपालिका–१ बस्ने गुम राना र पिसाब सम्बन्धी समस्याबाट पीडित ऋषिङ गाउँपालिका–७ बस्ने कर्णबहादुर थापालाई जनही रु एक लाख ७५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
नेपाल पत्रकार महासङ्घ तनहुँको सभाहलमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुवित गुरुङ, पूर्व अध्यक्ष भीमराज गुरुङ, पूर्व अध्यक्ष जङ्गबहादुर थापाले पीडितहरुलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
समाजमा आबद्ध ५३ जनाबाट स्वेच्छिक रुपमा उक्त रकम सङ्कलन गरिएको समाजका उपाध्यक्ष सुवित गुरुङले जानकारी दिए । पीडितका बारेमा जानकारी पाएपछि उपचारमा सघाउन वरिष्ठ उपाध्यक्ष रोशन गुरुङको संयोजकत्वमा रकम सङ्कलन अभियान सञ्चालन गरिएको उनले बताए ।
समाजमा चार सय तनहुँवासी आजिवन सदस्यका रुपमा आबद्ध छन् । सोही सदस्यबाट रकम सङ्कलन गरी जिल्लाका विभिन्न रोगबाट पीडित, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा समाजले सहयोग गर्दै आएको समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले जानकारी दिए ।
२६ वर्ष अगाडी स्थापना भएको समाजले जिल्लामा भूकम्पपछिको पुर्ननिर्माण, बाढीपहिरा जस्ता दैवि प्रकोपबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार विकास तथा पत्रकारिता प्रबद्र्धनमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पत्रकार प्रदीप काफ्लेले जानकारी दिए ।