कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच जनामात्रै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच जनामात्रै

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८२, शुक्रबार

    दमाैली, २३ साउन । तनहुँको बन्दीपुरमा रहेको व्यावसायिक किट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटै जिल्ला हो । ११ वटै जिल्ला कार्यक्षेत्र भएका कार्यालयमा पर्याप्त कर्मचारी होलान् भन्ने लाग्न सक्छ, तर अवस्था भने त्यस्तो छैन ।

    केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भएपनि पाँच जनामात्रै कर्मचारी छन् । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज पौडेलले बताए । कार्यक्षेत्र प्रदेशभर हुनु तर कर्मचारी कम हुँदा काम गर्न समस्या परिरहेको उनकाे गुनासो छ ।

    पौडेलका अनुसार कार्यालयमा एक जना वरिष्ठ बाली संरक्षण अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना प्राविधिक सहायक, एक जना नायब प्राविधिक सहायक र एक जना कार्यालय सहयोगीको पदपूर्ति छ । कार्यालयमा कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकको पदपूर्ति हुन सकेको छैन ।

    उनले भने, “११ जिल्ला कार्यक्षेत्र हुँदा प्राविधिक कर्मचारीको अभावले सोचे बमोजिम काम गर्न अप्ठ्यारो भइरहेको छ । लेखा, प्रशासन, प्राविधिक कर्मचारी पदपूर्ति भएको छैन ।”

    कार्यालयको मुख्य काम भनेको रेशम खेती, मौरीपालन र च्याउखेती हो । त्यसका लागि कार्यालयले कृषकलाई मौरीपालन सम्बन्धी सीपसँगै मौरी, च्याउखेती तालिम प्रदान गर्दै आइरहेको पौडेलको भनाइ छ ।

    कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा एक सय ३१ रेशम बिज कोया उत्पादन गरेको छ । उत्पादित रेशम बिज कोया रेशम विकास केन्द्र खोपासीलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए । त्यस्तै कार्यालयको च्याउ ल्यावमा तीन हजार पोका च्याउ बीउ उत्पादन गरिएको छ । ती च्याउहरु विभिन्न ठाउँका कृषकलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए ।

    पौडेलका अनुसार कार्यालय परिसरमा करिब एक सय केजी खायन च्याउ उत्पादन भएको र कार्यालयबाटै विक्री गरिएको छ । कार्यालयले यस आर्थिक वर्षमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका एक सय दश जना कृषकलाई मौरीपालन आधारभूत स्थलगत घुम्ती तालिम प्रदान गरेको छ । त्यस्तै एक सय ८३ जना कृषकलाई च्याउ खेती सम्बन्धी सम्बन्धी स्थलगत तालिम दिइएको छ ।