


काठमाडौ, २४ साउन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
पूर्णिमाको दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले मन्त्रिएको यज्ञोपवीत र डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवले लखेटेका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरेर बलशाली दानवराज बलीलाई बाँधेका थिए। त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहो’ भन्दै डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको छ।
यसैले रक्षाबन्धन बाँध्ने बेला गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्दै रक्षासूत्र, रक्षाबन्धन वा डोरो बाँध्ने वैदिक परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष र धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई यो जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजा गरेर मन्त्रिएको रक्षाबन्धन वा डोरो वैदिक परम्पराको मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन्।