


दमौली, २४ साउन । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गर्न लागिएको नारेश्वरतालको बाँध र सिचाइँ ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रबद्र्धनका लागि नगरपालिकाले गौरवको योजनाको रुपमा राखेको नारेश्वर तालमा अब माटो पानी पानी भर्ने तयारी गरिएको छ ।
सिचाइँ डिभिजन कार्यालय तनहुँ मार्फत् विगत लामो समयदेखि रोकिएको बाँध निर्माण कार्य यस वर्ष पूर्णता पाएसँगै अब तालमा माटो फाली पानी भर्ने कार्य सुरु गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
नगरपालिकाद्वारा कार्यान्वयन गरिएको यस बहुउद्धेश्यीय परियोजना २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । अब तालमा जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माणको काम अगाडि बढाइने न्यौपानेले बताए ।
तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ । जसबाट आसपासका कृषकलाई आवश्यक सिचाइँको पानी वितरण गरिनेछ । यसबाट स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए ।
व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब रु चार करोड अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजना पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको उनको विश्वास छ । उनले भने, “व्यास नगरपालिका यस परियोजनामार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको छ ।”
नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको रु एक करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
तीन सय मिटर लम्बाई रहने तालको चौडाई २८ देखि ६८ मिटरको रहने वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । तालको औसत गहिराई २.५ देखि ३ मिटरको रहनेछ भने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाई रहने तालमा बाँधको चौडाई ६.८५ (जगमा) देखि १.५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजार देखि ३० हजार घनमिटरको रहनेछ ।