


दमौली, २८ साउन । महिला उद्यमी सङ्घ नेपाल तनहुँले एक दिवसीय उद्यमी व्यापार मेलासँगै तीज विशेष कार्यक्रम पनि सम्पन्न गरेको छ।
संघले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा व्यापार मेलासँगै महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गरेको हो।
महिला उद्यमी सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला उद्यमीहरूद्वारा उत्पादित विभिन्न स्वादका अचार, विभिन्न प्रकारका ब्याग एवं झोलाहरू, विभिन्न डिजाइनका मालाहरू, सेलरोटी, झिलिङ्गा, बेसार लगायत महिला उद्यमीहरूद्वारा नै उत्पादित सामग्रीहरू प्रदर्शनी गरिएको थियो ।
बुधबार सञ्चालित उक्त मेलाको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरेले उद्घाटन गरिन्। कार्यक्रमकी प्रमुख अतिथि दराईले महिला उद्यमीहरू विभिन्न उत्पादन मार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्।
महिला उद्यमीहरू आत्मनिर्भर बन्ने प्रक्रिया चुनौतीपूर्ण भएतापनि योजनाबद्ध तरिकाले अगाडि बढेमा सफल भइने दरैले बताइन्। उनले तीज महिलाहरूको विशेष पर्व भएको बताइन्। दुःख सुख बाँड्ने, जमगट हुने, मिठो मसिनो खाने परम्परागत मान्यतालाई आधुनिकीकरण गरिएता पनि यसको महिमा र गरिमा उत्तिकै रहेको उनले बताएकी थिइन्।
उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास ९ का वडाध्यक्ष सुरेश थापा, व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, व्यास ४ का वडाध्यक्ष ले.मनबहादुर गुरुङ, व्यास ३ का कार्यवाहक अध्यक्ष बिनु श्रेष्ठ, रोट्रयाक्ट क्लबका अध्यक्ष एवं शिक्षाविद् बिना कैनी, मादी सेदी सहकारीका अध्यक्ष सुशीला शर्मा, मादिसेती झिलिङ्गा उद्योगका अध्यक्ष सरलादेवी श्रेष्ठ, संस्थाका सल्लाहकार राधिका परियार, तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिकी सभापति रोशनी पिया लगायतले महिला उद्यमी सङ्घ नेपाल तनहुँले उदाहरणीय काम गर्दै आएको बताएका थिए। उपाध्यक्ष तुलसी शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सरु श्रेष्ठले गरेकी थिइन्।