


दमौली, ३० साउन व्यास नगरपालिका–१३ बेलबासका २७ वर्षीय कमलेश चन्द ठकुरी बेपत्ता प्रकरणमा तनहुँ जिल्ला अदालतले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले चार जनालाई पुर्पक्षका लागि थुनामा र दुई जनालाई सुधारगृह पठाउने आदेश गरेको हो ।
ऋषिङ गाउँपालिका–१ झापुटारका सागर थापा, सविन भन्ने सगुन गर्जा मगर, जिसन भन्ने छविलाल आले, काले भन्ने विनोद आले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले खबरपुञ्जलाई जानकारी दिए ।
परिवर्तित नाम ०८२÷०८३ दमौली ४ र परिवर्तित नाम ०८२÷०८३ दमौली ३ नाबालक रहेकाले सुधारगृह पठाइएको छ ।
कमलेश चन्दका बाबु दिलबहादुर चन्दले निजहरुले छोरालाई बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धान सकाएपछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् निजहरुविरुद्ध तनहुँ जिल्ला अदालतमा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको थियो ।
साउन ७ गते राति बेलबासबाट झापुटार गएका कमलेश सोही रातिदेखि सम्पर्कविहिन छन् ।