जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८२, आईतवार

    दमौली, ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताएकी छन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले आइतबार यहाँ आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा उनले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने उल्लेख गरिन् । राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेले जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो ।

    उनले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताइन् । मन्त्री न्यौपानेले भनिन्, “जनता खुसी र सुखी हुनुपर्छ । सार्वजनिक निकायले पारदर्शी भएर सेवालाई चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ । जनताले गर्ने प्रश्नबाट भाग्ने होइन समाधान गर्ने हो ।”

    उनले विकासका कामले गति लिए पनि जनता यत्तिमै सन्तुष्ट नरहेकाले गति बढाउन लाग्नुपर्ने धारणा राखिन् । मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले समाजलाई नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताइन् ।

    त्यस क्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले प्रवाह गरिरहेको सेवाका बारेमा मन्त्री न्यौपानेलाई जानकारी गराएका थिए ।