


दमौली, १० भदौ । तनहुँको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो ।
गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा उद्योग स्थापना भएको नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक सुदीप गैह्रेले जानकारी दिए । रु ५६ लाख १८ हजार सात सय ७१ को लागतमा उद्योग स्थापना गरिएको छ । उनका अनुसार उद्योगमा संरचना निर्माणका लागि रु २२ लाख १८ हजार सात सय ७१ खर्च भएको छ भने उपकरण जडानमा रु ३४ लाख खर्च भएको छ ।
किसानले पालेका पशुवस्तुलाई पौष्टिक आहारयुक्त घाँस खुवाउने उद्धेश्यसहित साइलेज उद्योग स्थापना गरिएको भिमाद नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक सुदीप गैह्रेले जानकारी दिए । पशुपालनको राम्रो सम्भावना भएको नगरपालिकाका कृषकले पालेका पशुवस्तुलाई पशु आहारको अभाव नहोस् र पौष्टिक आहारयुक्त घाँस खुवाउन साइलेज उद्योग स्थापना गरिएको उनले बताए ।
उनले भने, “हिउँदको समयमा पशुलाई खुवाउन तराई मधेश र भारतबाट पराल आयात गरेर ल्याउनुपर्ने बाध्यता छ । वर्षायाममा नेपियर, मकै लगायतका घाँस खेर जाने र हिउँदमा पैसा तिरेर घाँस ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न यस उद्योगले सहयोग पुग्छ ।”

डाँठ भएका घाँसहरुलाई साइलेज बनाएर पशुलाई खुवाउँदा पशुको वृद्धिविकासका लागि समेत उपयोगी हुने उनको भनाइ छ । घाँसलाई चापकटरको माध्यमबाट काटेर व्यारल मेसिनमा हालेर प्लाष्टिकले बेरेर साइलेज उत्पादन हुन्छ । उने भने, “साइलेज बनेको ६० दिनभित्र पशुलाई खुवाउन उपयुक्त हुन्छ । हिउँदको समयमा पर्याप्त घाँस नहुने हुँदा वर्षायामको घाँस हिउँदमा पशुवस्तुलाई खुवाउन किसानलाई उपलब्ध गराउँछौ ।” दुधिलो मकैबाट साइलेज बनाउन लाग्यौ भने दाना, कुडो कटौती गरेर खुवाउन सकिने उहाँको भनाइ छ ।
गैह्रेका अनुसार दुहुना गाइभैसी, बाख्रा, बङ्गुर, माछालाई पनि साइलेज खुवाउन सकिन्छ । साइलेज उद्योग सञ्चालनको जिम्मेवारी भिमाद कृषि उद्यम सहकारी संस्थाले पाएको छ । नगरपालिकाभित्र रहेका विभिन्न सहकारीसँग आवेदन माग गरेकामा उक्त सहकारीले सञ्चालनको जिम्मा पाएको हो ।
उद्योग सञ्चालनका लागि नगरप्रमुख दधिराज सुवेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । उद्योग सञ्चालनबाट भएको नाफा सहकारी र नगरपालिकालाई ५०÷५० प्रतिशत बाँडफाट गर्ने सम्झौता भएको छ ।
यहाँ किसानले घाँस, मकै ल्याएर साइलेज बनाएर लैजान सक्नेछन् भने किसानले उत्पादन गरेको घाँस उद्योगमा ल्याएर विक्री गर्न सक्ने व्यवस्था गरिएको सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै तयारी भएको साइलेज खरिद गर्न सक्ने समेत व्यवस्था मिलाइएको छ ।
किसानले मकैको बोट ल्याएर विक्री गर्दा प्रतिकेजी रु आठ प्राप्त गर्नेछन् भने नेपियरको प्रति केजी रु चार मूल्य निर्धारण गरिएको छ । आफै बनाएर लैजानुपर्दा प्रति केजी रु पाँच तिरेर साइलेज लैजान सक्नेछन् । तयारी साइलेज खरिद गर्नुपर्दा नेपियरको साइलेज खरिद गर्दा प्रति केजी रु १२ र मकैको साइलेज प्रति केजी रु १६ मूल्य निर्धारण गरिएको छ ।
भिमाद नगरपालिका–५ का भैसीपालक कृषक मेघराज मरासिनीले हिउँदको समयमा घाँस अभाव हुँदा साइलेजको प्रयोग गर्न सकिने हुँदा कृषकलाई फाइदा पुग्ने बताए । उनले भने, “हिउँदमा हरिया घाँस पाइदैन । तराइबाट ल्याएको परालमा भर पर्नुपर्ने बाध्यता छ । साइलेजले गर्दा हरियो घाँसको मात्रा र आफ्नै घाँस प्रयोग गर्न सकिने हुँदा धेरै सजिलो हुने भयो ।” साइलेज पशुवस्तुका लागि पौष्टिक आहार हुने हुँदा कृषकलाई उपयोगी हुने उनको भनाइ छ ।
भिमाद नगरपालिका–८ का कृषक सूर्यप्रसाद पराजुलीले पशु आहारका लागि खुवाउने घाँस त्यत्तिकै खुवाउँदा पशुले राम्रोसँग नखाने, आधा फालिदिने समस्या रहँदै आएको र साइलेज बनाएर खुवाउँदा पशुले राम्रोसँग खान सक्ने बताए । उनले भने, “साइलेज खुवाउँदा दूधको मात्रा समेत बढ्ने, मासु पनि बढ्ने र पशुको स्वास्थ्य पनि राम्रो हुने रहेछ ।” किसानले तराई मधेशबाट पराल खरिद गरेर ल्याउनुभन्दा साइलेज खुवाउँदा लागत पनि कम पर्ने उनको भनाइ छ ।