


दमाैली, १० भदाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्राेनिक मेडिकल रेकर्ड प्रणालीकाे शुभारम्भ गरेका छन् । अस्पतालमा मङ्गलबार आयोजित विशेष कार्यक्रमका बीच मन्त्री पौडेलले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु गरिएको हो । अस्पतालमा गत जेठ १४ गते उक्त प्रणालीको अभ्यास गरिएको थियो ।
त्यस क्रममा मन्त्री पाैडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको तीन सय क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताए ।
अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने उनले बताए । अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यससम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भने, “अस्पतालको डिपिआर अनुसार रु छ सय करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौ ।” मन्त्री पौडेलले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यसअवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले र श्यामराजा महतले जिपी कोइराला अस्पताल तनहुँको मात्रै नभई राष्ट्रकै गौरव रहेको बताए ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश साम्बाजिराब पाण्डवले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको बताए ।
विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणालीको गत जेठ १४ गते अभ्यास गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले यो प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, रिपोर्ट, औषधि लगायतको विवरण अनलाइन प्रणालीमार्फत् जानकारी लिन सहज हुने बताए । उनले भने, “यसले अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्सरे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न सहज हुनेछ ।”
यो प्रणाली सुरु भएसँगै टिकट काउण्टर, ल्यावमा कामको भार धेरै नै कम भएको उनकाे भनाइ छ । यस प्रणालीबाट बिरामीको उपचारमा कम त्रुटी हुने र स्वास्थ्यकर्मीको समय कागजी कामभन्दा उपचारमा बढि केन्द्रित हुने, नीति योजना र अनुसन्धानमा मद्धत पुग्ने विश्वास गरिएको डा. श्रेष्ठले बताए ।