न्यु भिजन युथ क्लवको तीज गीत प्रतियोगिता : पृथ्वी समाज सुधार आमा समूह प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्यु भिजन युथ क्लवको तीज गीत प्रतियोगिता : पृथ्वी समाज सुधार आमा समूह प्रथम

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८२, बुधबार

    दमाैली, ११ भदाै । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित न्यु भिजन युथ क्लवले आयोजना गरेको १३ औ खुल्ला तीज गीत एवं नृत्य प्रतियोगितामा गीततर्फ पृथ्वी समाज सुधार आमा समूह ऋषिङ प्रथम भएको छ । जामुनेमा आज सम्पन्न प्रतियोगितामा १५० अङ्कमा १०३ अङ्क प्राप्त गरी पृथ्वी समाज सुधार प्रथम भएको हो ।

    प्रतियोगितामा घुम्ती आठबिसे आमा समूह (१०२.५ अङ्क) द्वितीय, गलमबास आमा समूह (१०२ अङ्क) तृतीय र दिपज्योति आमा समूह व्यास (१०१ अङ्क) सान्त्वना भएको छ । उनीहरुलाई क्रमशः रु २५ हजार पाँच सय २५, रु १५ हजार पाँच सय २५, रु नौ हजार नौ सय ९९ प्रदान गरिएको छ ।

    नृत्यतर्फ तनहुँ नाचघर प्रथम भएको छ । तनहुँ नाचघरले १५० अङ्कमा १०५.५ अङ्क प्राप्त गरेको छ । त्यस्तै द्वितीय अस्मिता थापा समूह (१०२ अङ्क), तृृतीय रोजिना श्रेष्ठ (९९.५ अङ्क) र सान्त्वना अन्सु थापा (९७ अङ्क) हुन सफल भएका छन् ।

    उनीहरुलाई क्रमशः रु आठ हजार आठ सय ८८, रु छ हजार छ सय ६६, रु चार हजार चार सय ४४ नगद पुरस्कार प्रदान गरिएको छ ।

    कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले न्यु भिजन युथ क्लव म्याग्देको मात्रै नभई तनहुँको नमूना क्लव बन्न सफल भएको र त्यो कामले प्रमाणित भएको बताए ।

    अध्यक्ष श्रेष्ठले गाउँपालिकाले गरेका जनउत्तरदायी कामले म्याग्दे तनहुँ जिल्लामै प्रथम हुन सफल भएको बताए । अध्यक्ष श्रेष्ठले पालिकाले कृषि, पशुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गरे ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सामाजिक क्षेत्रमा क्लवले गरेको काम उदाहरणीय रहेको बताउँदै न्यु भिजन युथ क्लव म्याग्देकै उत्कृष्ट क्लव बन्न सफल भएको बताए ।

    क्लवका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष शिवबहादुर क्षेत्री, क्लवका पूर्व अध्यक्ष सन्दिप रानाभाट लगायतले क्लवले गरेका कामको चर्चा गरेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष श्रेष्ठले सबैको सहयोगले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको बताए ।

    प्रतियोगितामा अनुराग थापाले निर्णायक संयोजकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा चर्चित गायिका सुष्मा शाही ठकुरीले हरियो काक्रो, दमौलीमा गेट जस्ता चर्चित गीतले दर्शकलाई भरपुर मनोञ्रजन प्रदान गरेकी थिइन् ।

    प्रतियाेगिता मङ्गलबारदेखि सुरु भएकाे थियाे । तीज गीतमा १४ समूहकाे सहभागिता रहेकाे थियाे ।

    क्लवले विगत १३ वर्षदेखि निरन्तर रुपमा जामुनेमा तीज गीत प्रतियाेगिता गर्दै आइरहेकाे छ । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा विविध सहयाेग गर्दै आइरहेकाे निवर्तमान अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।