


दमौली, १९ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुमेमा ट्राफिक प्रहरीले यात्रुमाथि कुटपिट गरेको आरोप लागेको छ ।
भानु नगरपालिका वडा -२ निवासी चन्द्र बहादुर कुमाललाई ट्राफिक प्रहरी सन्तोष खत्रीले कुटपिट गरेका हुन् । सन्त बहादुर गुरुङको अटोमा आफ्नो ट्याक्टरको सामान लिन आउने क्रममा खत्रीले कुमालमाथि कुटपिट गरेको पीडितको भनाइ छ ।
बिहान सन्त बहादुरको अटोमा जादै गर्दा चालक सन्त बहादुर गुरुङसँग ट्राफिक प्रहरीको वार्तालाप भएको भिडियो खिचेको भन्दै डुम्रे प्रहरी चौकीमा ल्याइ खत्रीले कुमाललाई निर्घात कुटपिट गरेका हुन।
आफूलाई कुटपिट गर्ने ट्राफिक प्रहरीका विरुद्धमा कुमालले ट्राफिक कार्यालयमा निवेदन समेत दिएका छन् । पीडितहरु बिहीबार जिल्ला प्रहरी कार्यालयमा समेत आएका थिए । प्रहरीसँगको छलफलमा कुनै निष्कर्ष ननिस्किएको पीडितका आफन्तले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले दुवै पक्षसँग घटनाबारे बुझ्ने काम गरिएको बताए ।