


दमौली, १९ भदौ । एलायन्स क्लब तनहुँले दमौली बजारमा रहेका विद्यालयका बस चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरेको छ । क्लवले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी बिहीबार सचेतनामूलक कार्यक्रम गरेको हो ।
प्याव्सन र एनप्याव्सन तनहुँको सहकार्य तथा व्यास नगरपालिकाको सहयोगमा व्यास नगरपालिकाभित्र सञ्चालन भइरहेका विद्यालय बसका चालक र सहचालकलाई लक्षित गरी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक उमेश बस्नेतले विद्यालयका बस चालक र सहचालकलाई दुर्घटना न्यूनीकरण गर्ने तरिका तथा यात्रुहरूको सुरक्षासम्बन्धी सहजीकरण गरेका थिए ।
व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बालबालिकाहरू भविष्यका कर्णधार भएको कारण उनीहरूको सुरक्षामा चालक–सहचालकले उच्च जिम्मेवारीपूर्वक सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रहरी निरीक्षक शिवप्रसाद पाठकले सहभागीहरूलाई ट्राफिक सचेतना सम्बन्धी जानकारी दिँदै सुरक्षित, जिम्मेवार र अनुशासित ढंगले बस सञ्चालन गर्न आग्रह गरे।