


काठमाडौँ, २१ भदौ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले एक बालिकालाई ठक्कर दिएको घटना सार्वजनिक भएको छ।
शनिबार बिहान सवा ७ बजे हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा को १ झ ६९९ नम्बरको गाडीले ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको हो।
बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्न लाग्दा गाडीले ठक्कर दिएको थियो। ठक्करपछि बालिका सडकमै पछारिएकी थिइन् तर गाडी रोकिएन र सोझै अगाडि बढ्यो।
गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई उठाएकी थिइन्।
ललितपुर प्रहरीका अनुसार मन्त्री मगर सो गाडीमा सवार थिए भन्ने पुष्टि भइसकेको छ।
बालिकालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ भने मन्त्री सवार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिइएको ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्।
मन्त्री मगर एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए।