शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८२, शनिबार

    दमाैली, २१ भदाै । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गरेकी हुन् ।

    सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित भएकी छन् । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उनले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गरेकी हुन् । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनले बताइन् ।

    बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उनकाे भनाइ छ । नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उनले उल्लेख गरिन् ।

    ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ । उनले भनिन्, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।”

    आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ । दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनकाे भनाइ छ । उनले भनिन्, “बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।”

    ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनकाे भनाइ छ । उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाएकी छन् । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ ।