


दमाैली, २७ भदाै । तनहुँ जिल्ला अदालतले आइतबारदेखि सेवा प्रवाह सुरु गर्ने भएको छ । गत २३ र २४ गते भएको जेनजेडको आन्दोलन र त्यसपश्चात् अदालतमा आगलागी र तोडपश्चात् सेवा प्रवाह बन्द रहेकामा आइतबारदेखि सेवा प्रवाह गर्न लागिएको हो ।
अदालतले शुक्रबार जारी गरेकाे सूचना अनुसार दुवै पक्ष उपस्थित भइ मिलापत्र हुने फिरादपत्र दर्ता गरी मिलापत्र गर्ने, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, म्याद थप, अभियोगपत्र दर्ता गरी थुनछेक तथा सुनुवाइ गर्ने, बन्दीप्रत्यक्षीकरण, अन्तरिम आदेशसहितको निषेधाज्ञाको निवेदन दर्ता गरी सुनुवाइ गर्ने र दर्ताद्वारा विवाह, अधिकृत वारेनसनामा दर्ता गरी प्रमाणिकरण गर्ने कार्य सञ्चालन गरिनेछ ।

देशको हालको विषम परिस्थितिका कारण निषेधाज्ञा तथा कफ्र्युको आदेश तनहुँ जिल्लामा पनि जारी भएकाले आवतजावतमा असहजता भएबाट मुद्धाका पक्ष तोकिएको म्याद तारेखमा उपस्थित हुन नसक्ने विद्यामानता रहेको र निषेधाज्ञा कफ्र्यु हटी यातायातमा सहज भइ अदालतको कामकारवाही सुचारु भएपश्चात् उल्लेखित परिस्थितिले अदालतमा उपस्थित हुन नसकी म्याद तारेख गुज्रन गएको कारण म्याद तारेक थामी पाउँ भनी निवेदन लिई अदालतमा उपस्थित भएमा मुलुकी फौजदारी कार्यविधि संसहता, २०७४ को दफा ५९ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ बमोजिम गुज्रिएको म्याद तारेख थाम्न सकिने जनाइएको छ ।
उल्लेखित अवधिमा मुद्धा गर्ने हदम्याद गुज्रिएको हकमा सर्वोच्च अदालतको वृहत पूर्ण इजलासबाट मिति २०७७ जेठ १५ मा भएको आदेश समेत बमोजिम उल्लेखित निषेधाज्ञा र कफ्र्यु हटी आवतजावतको अवस्था सहज भइ अदालतको कामकारवाही सुचारु भएको मितिले बाटाका म्यादबाहेक ३० दिनभित्र अदालतमा उपस्थित भएमा हदम्याद नगुज्रने अदालतले जनाएको छ ।