


दमौली, ५ असोज। तनहुँ ख्रिष्टियन समाजले जिल्ला प्रशासन कार्यालय र तनहुँ जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । ‘जेनजी’ आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी पश्चात् सामग्री जलेर नष्ट भएकाले सेवा प्रवाहमा असहज परिस्थिति सिर्जना भएपछि समाजले कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।
सामाजिक अभियान्ता सुदीप गफ्फारको समन्वयमा उक्त सहयोग गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय र तनहुँ अदालतमा आइतबार छुट्टाछुट्टै कार्यक्रमका बीच रु एक लाख बराबरको सामग्री हस्तान्तरण गरिएको समाजका अध्यक्ष केवी आलेले जानकारी दिए । उनका अनुसार प्रशासन कार्यालयलाई एक÷एक थान कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ भने तनहुँ अदालतलाई एक थान प्रिन्टर सहयोग गरिएको छ ।
आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गर्नु दुःखद भएको बताउँदै आलेले उक्त सामग्रीले कार्यालय सञ्चालनका लागि केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले कार्यालयबाट हाल नागरिकताको सेवा प्रवाह सुरु भइसकेको जानकारी दिँदै राहदानी र राष्ट्रिय परिचयपत्रको काम विस्तारै सुरु हुने बताए ।