असोज १७ देखि भारीदेखि अति भारी वर्षाको चेतावनी, कुन दिनको मौसम कस्तो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    असोज १७ देखि भारीदेखि अति भारी वर्षाको चेतावनी, कुन दिनको मौसम कस्तो ?

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८२, मंगलवार

    काठमाडौं, १४ असाेज । जल तथा मौसम विज्ञान विभागले नेपालमा असोज १७ गते (एकादशी)देखि देशका धेरैजसो भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति ८ बजे ‘दसैँ विशेष मौसम बुलेटिन’ जारी गरेर असोज १७ गतेदेखि भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ ।

    महाशाखाका अनुसार, नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट मध्य भारततर्फ सर्ने क्रममा छ । सोही प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ गतेबाट देशका कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ ।

    कुन दिनको मौसम कस्तो ?

    असोज १७ गते (एकादशी, अक्टोबर ३) : कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    असोज १८ गते (द्वादशी, अक्टोबर ४) : कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    असोज १९ गते (त्रयोदशी, अक्टोबर ५) : यस दिन कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको मात्रा उच्च हुनेछ । यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । बाँकी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    सचेत रहन आग्रह
    महाशाखाले दसैँ अवधिभर मनसुन सक्रिय भई वर्षा हुने सम्भावनाले गर्दा भूक्षय, बाढी, पहिरोको जोखिम बढ्ने बताएको छ । साथै, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा तथा अन्य योजना बनाउँदा मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।