


दमौली, २९ असोज । बुढेसकालले चाउरी परिसकेको अनुहार पातलो शरीर उमेरले ७० काटिसकेको छ । न त उनको हरमा लुगा नै राम्रो छ न त उनको खुट्टामा चप्पल नै छ। यो वृद्ध अवस्थामा न उनलाई धेरै धन दौलत भए हुन्थ्यो जस्तो लागेको छ, न ठूलो महलमा बस्न पाए हुन्थ्यो भन्ने मन नै छ| उनलाई त केवल मर्ने बेलामा नेपाली हुँ भनेर गर्वका साथ मर्ने धोको छ ।
बन्दीपुर गाउँपालिका-४ लोहीपाखा निवासी मंगली भुजेलले भनिन्, ‘अब बुढेसकाल पनि लागियो, मर्ने बेलामा नागरिकता बनेको हेर्न मन छ, नागरिकता सिरानीमा राखेर निदाउन मन छ ।’
उनले थपिन्, ‘नागरिकता नबन्दा मैले त दुःख पाएँ। मेरा छोराछोरीले पनि दुःख पाइरहेका छन् लौ न कसरी बन्छ नागरिकता दिलाइदिन पर्यो हजुर ।’ उनको घर पुग्ने जो कोहीलाई पनि यसरी नै बिन्ती बिसाउँछिन् मंगली ।
विसं १९९० सालको भूकम्प जानुअघि मङ्गलीका बुवा सुकबर भुजेल कविलासको बाङ्गेसालबाट आमा पाकुलीको माइतीघर ऑबुखैरेनी- ५ को बरालुङ रातपाटामा घर ज्वाई बस्न आएका थिए ।
मङ्गलीको चार दाजुभाई पनि त्यहीँ आमाको माइतीमा जन्मिएका थिए। जेठी छोरी २०१० सालतिर मङ्गलीको जन्म भयो। हुर्कँदै गइन् १५-१६ वर्षकै उमेरमा खान लाउनुको अभाव भएपछि उनी ज्यामी काम गर्न तयार पनि भइन् ठुली छोरी भएपछि अन्य भाइबहिनीको लालनपालन पर्ने हेर्नुपर्ने भएको उनको काँधमा थप जिम्मेवारी आइपर्यो ।
२०२६ सालतिर पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्डको निर्माणको काम पनि त्यतिबेलै सुरु भयो। त्यही ज्यामी काम गर्न भनेर मङ्गली घरबाट निस्किन् काम गर्ने क्रममा २५ वर्षको उमेरमा उनीसँग एक पूर्वेली केटो कृष्णबहादुर थापा क्षेत्रीसँग भेटघाट भयाे, हिमचिम बस्यो मङ्गली र कृष्णबहादुरको चारजना छोराछोरी पनि जन्मिए। चार छोराछोरीको साथमा दिनचार्य गुजारा गरिरहेका थिए । गुजारा चलाउन साह्रो गाह्रो हुन थालेपछि पूर्वतिर आफ्नै घरमा लैजान मङ्गलीले पटकपटक श्रीमान कृष्णबहादुरलाई आग्रह गर्दै आइन् ।
आज जाउँला भोलि जाउँला भन्दै दिन बित्न थाल्यो। कृष्णबहादुर एक दिन साँझमा अबेर घरमा आइपुगे। उनी त्यो दिनमा बिरामी परेछन् । गाउँकै जडीबुटी खुवाउँदा कुनलाई निको पार्न सकिएन त्यसै रात त्यसै राति उनको निधन पनि भयो मंगलीले भनिन् । पूर्व आफ्नो घर जाने सपना मङ्गलीको चकनाचुर भयो। न श्रीमानले आफ्नो ठेगाना राम्रोसँग भनेका थिए न कहिल्यै परिवारलाई भेटाए , मंगलीलाई अब झन् बज्रपात पर्यो छोराछोरीलाई कसरी हुर्काउने भनेर|
चारजना छोराछोरीलाई कहिले कता कहिले कता गर्दै पालनपोषण गर्दै हुर्काउनमै व्यस्त बनिन् मंगली । उनको दुःख देखेर कान्छी बहिनी सनसरी भुजेलले आफू बसेकै स्थान तनहुको बन्दीपुर ४ को लोही पाखामा आफूसँगै राख्ने निदो गरिन्। तर मंगलीले मानिनन् किनभने उनी पैसाले किनेर बस्न चाहन्थिन्।
मङ्गलीको जग्गा किनेर बस्ने चाहना पनि उनकै कान्छी छोरीले करिब १८ / २० वर्ष अघि पुरा गरिदिइन्। उनीले त्यहाँ एउटा घडेरी सानी आमासँग किनेर आमालाई त्यही घर बनाएर राखिदिन्।|
मङ्गलीले जग्गा त किनिन् तर त्यो जग्गा आफ्नो नाममा भने बनाउन सकिनन् किनभने उनीसँग नागरिकता थिएन ।
मङ्गलीका छोराछोरीमध्ये जेठो छोरा सुकबहादुर जो अहिले पोखरामा ज्यालामजदुरी गरेर बसेका छन्। उनको बिहेबारी पनि भइसकेर एउटा नाती समेत जन्मिसकेको छ । जेठी छोरी सुकमाया र कान्छी छोरी लक्ष्मीको पनि बिहे भइसकेको छ। कान्छा छोरा तिलक भने आमा मङ्गलीसँगै बस्छन् ।उनी पनि करिब ४० वर्षको भए। उनी गाउँघरको मेलापात र ज्याला मजदुरी बाहेक अन्य कतै निस्कन र चल्न पनि पाएका छैनन् ।
मंगला अझै पनि नागरिकता पाउने आशामा छिन् । नागरिकता दिलाइदिनेको खोजीमा उनी बसेको धेरै रात बितिसक्यो धेरै दिन बितिसकेको छ । घरमा नौलो मान्छे पुग्ने बित्तिकै नागरिकता बनाइदिने पाइन्छ कि अब त भन्ने उनलाई लाग्ने गरेको पनि धेरै भइसक्यो ।