


दमौली, ३१ असोज । निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौली बजारमा जथाभावी डिभाइडर भत्काउन थालिएपछि सडक आयोजनाले धैर्य गर्न आग्रह गरेको छ । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डले सडकको काम निर्माणाधीन अवस्थामै रहेकाले सबैसँग छलफल गरी निकाल निकालिने जनाएको छ ।
दमौलीको भोर्लेटारचोकबाट डांग्रेखोल्सीतर्फ जाने र कालिकामार्गतर्फ प्रवेश गर्ने ठाउँमा केही व्यक्तिले आफूखुसी डिभाइडर भत्काएका छन् ।
पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले सडक निर्माणकै क्रममा रहेकाले धैर्य गर्न आग्रह गर्दै भने, ‘तिहार लगत्तै जनप्रतिनिधि सहित सबै पक्षसँग बसेर छलफल गरी निकास निकाल्छौ ।’
उनले भोर्लेटारचोकमा जेब्राक्रसको माग आएको र त्यसमा पनि सोचिरहेको बताए । उनले भने, ‘सडक सुरक्षा विशेषज्ञ र अन्तराष्ट्रिय अभ्यास अनुसार सडक सुरक्षित बनाउने हो ।
हालसम्म पूर्वी खण्डको काम ८६ प्रतिशत सकिएको छ ।