विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८२, शनिबार

    दमाैली, २२ कात्तिक । तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रितीरिवाज अध्ययन गर्ने केन्द्र बनाउन तनहुँ सङ्ग्रहालय स्थापना गरिएको छ । नेपाल क्षेत्री समाज तनहुँको सक्रियतामा व्यास नगरपालिका–१ करङकाठस्थित समाजको भवनमा तनहुँ सङ्ग्रहालय स्थापना गरिएको हो ।

    सङ्ग्रहालयमा तनहुँमा रहेका जातजातिका पहिरन, उनीहरुले प्रयोग गर्ने सामग्री राखिने सङ्ग्रहालय संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए । तनहुँमा प्रमुख १६ जाति रहेकाले सङ्ग्रहालयमा ती सबै जातजातिका सामग्री राखिने बस्नेतले बताए ।

    उनले भने, “यहाँ रहेका ब्राम्हण, क्षेत्री, दरै, कुमाल, बोटे, गुरुङ, राई, दुरा, दमै, कामी, सार्की लगायतले प्रयोग गर्ने पहिरन, उनीहरुले प्रयोग गर्ने सामग्री लगायत सबै सामग्री सङ्ग्रहालयमा राख्छौ । यो सङ्ग्रहालय नयाँ पुस्ताका लागि पाठशाला बन्ने छ । सङ्ग्रहालय विभिन्न जातजातिका धर्म, संस्कृति, रितीरिवाज अध्ययनको वृहत केन्द्र बन्ने विश्वास गरेका छौ ।”

    सङ्ग्रहालयले विभिन्न जातजातिका रहनसहन, वेषभूषासँगै सम्पूर्ण दिनचर्याबारे जान्ने अवसर प्रदान गर्ने उनकाे भनाइ छ । बस्नेतका अनुसार जिल्लामा बसोबास गर्ने सबै जातजातिका समुदायमा पुगेर उनीहरुले प्रयोग गर्ने वस्तुहरु सङ्कलन गरी सङ्ग्रहालयमा राखिनेछ । उनले भने, “सम्बन्धित जातजातिका समुदायमा पुगेर त्यस्ता सामग्री सङ्कलन गर्छौ, सहयोगका लागि अपिल पनि गरेका छौ । नपाइने सामग्री भने खरिद गरिनेछ ।”

    सङ्ग्रहालय संस्कृति संरक्षणसँगै जिल्लाको पर्यटन प्रबद्र्धनका लागि पनि सहयोगी बस्नेतको विश्वास छ । उनका अनुसार सङ्ग्रहालयमा जिल्लाका ऐतिहासिक, पर्यटकीय गन्तव्यस्थलका बारेमा जानकारी दिने सामग्री समेत राखिएको छ ।

    सङ्ग्रहालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख बजेट सहयोग गरेको थियो । यस्तै नेपाल क्षेत्री समाज तनहुँले गत तिहारमा देउसीभैलो खेलेर रु चार लाख सङ्कलन गरेको छ । सङ्ग्रहालयमा राष्ट्रिय विभूतिका शालिक समेत राखिने बस्नेतले बताए । उनले भने, “देशका लागि विशेष योगदान दिने व्यक्तिहरुको पनि शालिक बनाउँछौ ।” सङ्ग्रहालय स्थापनाका लागि बजेट आवश्यक पर्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने बस्नेतले बताए ।

    सङ्ग्रहालयका सहसंयोजक तिलक चौहानले स्थानीय सरकारले सङ्ग्रहालयमा ध्यान नदिएकाले क्षेत्री समाजको परिकल्पनामा सङ्ग्रहालय बनाउन लागिएको बताए । उनले भने, “यो सङ्ग्रहालय तनहुँको मात्र नभइ देशैभरीको सङ्ग्रहालयको केन्द्र बन्ने विश्वास गरेका छौ । सङ्ग्रहालय स्थापना भएको एक वर्ष पूरा भएको छ, तर यहाँ राखिने सामग्री सङ्कलनको कामलाई अब तीव्रता दिन्छौ ।”

    क्षेत्री समाज नेपाल तनहुँका सदस्य एवं सङ्ग्रहालयका सचिव रामचन्द्र अधिकारीले सङ्ग्रहालय स्थापनाका लागि सहयोग गर्न सबै जातजातिलाई आग्रह गरेका छन्। उनले भने, “प्रत्येक टोल, गाउँ, वडासम्म पुगेर सामग्री सङ्कलनको अभियानमा जुट्दैछौ ।”

    नेपाल क्षेत्री समाज तनहुँका सचिव हरि कार्कीले समाजको सक्रियतामा सङ्ग्रहालय निर्माण गरिएपनि यसलाई सबै जातजातिको पहिचान झल्किने केन्द्र बनाइने उल्लेख गरे । उनले भने, “सङ्ग्रहालयमा ऐतिहासिक, पुरातात्विक वस्तुको संरक्षण त हुन्छ नै सङ्ग्रहालय विद्यार्थीका लागि शैक्षिक अध्ययनको केन्द बन्नेछ ।”

    सङ्ग्रहालयसँगै यहाँ पुस्तकालय समेत बनाइएको छ । पुस्तकालयमा विभिन्न लेखकहरुले लेख्नुभएको पुस्तकहरु राखिएको छ । ती पुस्तकले तनहुँका ऐतिहासिक, सांस्कृतिक स्थलहरुको बारेमा अध्ययन गर्न सकिनेछ ।