


दमौली, २९ कात्तिक । नेकपा (एमाले) का युवा नेता एवं पूर्वमन्त्री पदम गिरीले प्रतिनिधिसभा पुनस्र्थापना गरेर जेनजी पुस्ताका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज सदरमुकाम दमौलीमा गरेको जनसभालाई सम्बोधन गर्दै नेता गिरीले संसद पुनस्र्थापना गरेर जेनजी पुस्ताले उठाएका मागहरु सम्बोधन गर्न सकिने बताए ।
उनले भने, “जेनजीले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका सवाल हामीले विगत लामो समयदेखि उठाइरहेका छौ । संसद पुनस्र्थापनामार्फत् कानुन संशोधन गर्न चाहन्छौ । कानुन संशोधनसँगै राष्ट्रिय सहमतिको सरकार बनाउने र अर्ली इलेक्सनमा गएर ताजा जनादेश लिने मुद्धामा एमाले स्पष्ट छ ।”
वर्तमान सरकारको गतिविधिका कारण चुनाव हुनेमा एमालेमा शङ्का रहेको बताउँदै गिरीले नहुने चुनावको पछाडि नलाग्ने र संसद पुनस्र्थापना हुनुपर्छ भन्ने एमालेको प्रमुख माग रहेको दावी गरे ।
पूर्वमन्त्री गिरीले एमालेसँग जोडिने गरेको विभिन्न घटनाको छानबिनका लागि सरकारसँग आग्रह गरे । उनले भने, “गिरीबन्धु होस् की ओम्नी होस् । एमाले सरकारमा छैन, छानबिन गर्नुस्, दोषी भए कारवाही भोग्न एमाले तयार छ ।” गिरीले विसं २०४६ सालदेखि अहिलेसम्मका सबै घटनाको छानबिनका लागि सघाउन एमाले तयार रहेको जिकिर गरे ।
