


दमौली, २३ मंसिर । सामाजिक अभियान्ता सुदीप गफ्फारले दश कक्षासम्म पढाउने जिम्मा लिएपछि म्याग्दे गाउँपालिका–१ मान्द्रे निवासी तीन वर्षीया सन्जु तामाङ विद्यालय जान थालेकी छन् ।
आर्थिक रुपमा विपन्न तामाङको परिवारले बालिकालाई पढाउन सक्ने अवस्था नरहेको जानकारी पाएपछि अभियान्ता गफ्फारले कक्षा १० सम्म अध्ययन खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन् । सोही बमोजिम ती बालिकालाई सोही वडाको कुलज्योति आधारभूत विद्यालयमा नर्सरीमा भर्ना गरिएको छ ।
१४ महिनाको हुँदा आमा गुमाएकी सन्जुलाई हाल उनका बुबा रामबहादुर तामाङ र हजुरआमाले लालनपालन गर्दै आएका छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने उनको परिवारलाई छोरीको पढाइ खर्च बेहोर्ने व्यक्ति भेटेपछि ढुङ्गा खोज्दा देउता मिलेको झै भएको छ ।
सामाजिक अभियान्ता गफ्फारले भने, “आर्थिक रुपमा विपन्न उहाँको परिवारलाई छोरी पढाउन गाह्रो भएपछि मैले १० कक्षासम्मको सम्पूर्ण खर्चको जिम्मेवारी लिएको छु । सोही बमोजिम ५ कक्षासम्म सोही वडामा रहेको विद्यालयमा अध्ययन गर्ने र त्यसपछि बालिकाको इच्छा अनुसार विद्यालय छानेर पढाउनेछु ।”
सन्जु विद्यालय जान थालेपछि अन्य विद्यार्थीसँग पनि घुलमिल गर्न थालिसकेको विद्यालयका शिक्षक देवीमाया खनालले बताइन् ।
ज्याला मजदुरी गरेर पढाउन सक्ने अवस्था नभएका बेला सामाजिक अभियान्ताको सहयोगले खुसी मिलेको सन्जुका बाबु रामबहादुरले बताए ।
