


दमौली, २८ मंसिर । एकता महिला सशक्तीकरण सञ्जाल व्यास- १ तनहुँको अध्यक्षमा सविता पण्डित चयन भएकी छन्। संस्थाको आइतबार सम्पन्न एघारौँ साधारण सभा तथा चौथो अधिवेशनले पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा अप्सरा रानाभाट, सचिवमा पार्वती गिरी,
कोषाध्यक्षमा रिता रानाभाट, सह-सचिवमा सुलोचना चन्द चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मी मल्ल, दुर्गा भट्टराई, शकुन्तला पौडेल, मनरूपा रानाभाट, पूर्णिमा रानाभाट, निर्मला सुनार, मिरा परियार, विनु श्रेष्ठ, लक्ष्मी पराजुली, हरिमाया अधिकारी, विष्णु मल्ल, सिता बि. क रहेको निर्वाचन संयोजक अधिवक्ता सरिता थापा भण्डारीले बताइन्।
संस्थाकी अध्यक्ष कल्पना देवी पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको गण्डकी प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्सालले उद्घाटन गरेकी थिइन्।
कार्यक्रमकी प्रमुख अतिथि लम्सालले महिलाको हक, अधिकार, सशक्तीकरण र नेतृत्व विकासका लागि महिला सशक्तिकरण सञ्जाल निरन्तर क्रियाशील रहेको बताइन् ।
उनले समाज रूपान्तरणमा महिलाको भूमिका निर्णायक हुन्छ भन्ने तथ्य आज सर्वमान्य भइसकेको अवस्थामा संस्थाले महिलाको आवाज बुलन्द गर्ने, समान अधिकार सुनिश्चित गर्ने र सामाजिक न्यायका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।
कार्यक्रममा व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खलेले समाजको दिगो विकासका लागि महिलाको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । उनले वडा कार्यालयले महिलामैत्री कार्यक्रम, सीपमूलक तालिम र आत्मनिर्भरताका प्रयासमा महिला सशक्तिकरण सञ्जालसँग सधैँ सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष गिरीमाया मिश्र, पूर्व वडा सदस्य नीरबहादुर मल्ल, विज्ञान चौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्त आमा समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठ, आजीवन सदस्य दुर्गा ढुङ्गाना लगायतले बोलेको संस्थाकी सचिव अप्सरा रानाभाटले जानकारी दिइन्।
