खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८२, मंगलवार

    दमौली, १ पुस । व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरु एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटक–पटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिदै भएकोप्रति चिन्ता व्यक्त गर्दै यहाँका युवाहरु संरक्षणका लागि एकजुट भएका हुन् ।

    खेलमैदान नहुँदा दमौलीका खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ रहेको भन्दै खेलमैदानमा मेला महोत्सव गर्न नदिने भन्दै युवाहरुले मङ्गलबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

    खेलमैदानलाई व्यवस्थित गर्न नगरपालिकाको रु ६० लाख बजेटबाट खेलमैदान सम्याउने, पानी निकासका लागि मैदानमुनी पाइप राख्ने, प्यारापिट बनाउने काम भएको भन्दै मेला महोत्सवले खेलमैदान नाश हुँदै जाने स्थानीय युवाको आरोप छ । यहाँ मेला महोत्सव सञ्चालन गर्ने सङ्घसंस्थाले वैकल्पिक ठाउँको खोजी गर्न उनीहरुले सुझाव दिएका छन् ।

    जिल्लास्थित विभिन्न युवा क्लवका तर्फबाट भुवन गोशलीले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै निकट भविष्यमा खेलमैदानमा महोत्सव गर्न लागिएकामा जिल्लास्थित युवा क्लवको घोर आपत्ति रहेको जनाए ।।

    उनले भने, “सो मैदानमा मेला महोत्सव सञ्चालन गर्दा खेलमैदानको भौतिक संरचनामा क्षति पुग्ने र खेलकुद मैदानको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । यसलाई संरक्षण गर्ने राज्यको प्रमुख दायित्व हो ।”

    नवयुवा क्लव, अकला युवा क्लव व्यास १, हैरान्स क्लव व्यास २, फ्रेण्डसीप युवा क्लव म्याग्दे १, व्यास युथ क्लव व्यास ४, बिपी वनवाटिका खेलमैदान उपभोक्ता समिति व्यास ३, टाइगर ल्याण्ड युवा क्लव व्यास ४, बागबजार युवा क्लव व्यास २, डिहील्याण्ड युवा क्लव व्यास १०, मणि युवा क्लव म्याग्दे ४, नवमित्रता युवा क्लव व्यास १३, लियो क्लव अफ तनहुँ, तनहुँ भलिबल सङ्घ लगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

    स्थानीय युवा बासु सापकोटाले युवाहरु जागरुक नहुने हो भने खेलमैदान संरक्षण नहुने बताए । आफूहरुको पुस्ताले खेलमैदानकै अभावमा खेल्न नपाएको बताउँदै अब पनि खेलमैदान संरक्षण नगरे अबको पुस्ताको पनि अवस्था त्यही हुने भन्दै जसरी पनि खेलमैदान संरक्षण गरेरै छाड्ने उनले बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आदिवासी जनजाति महासङ्घलाई अन्तिम पटकका लागि महोत्सव गर्न दिइएको र महोत्सवबाट प्राप्त हुने केही रकम खेलमैदानमा खर्च गरिने बताए । दुवै पक्षलाई राखेर एक÷दुई दिनभित्रै बैठक राखेर सहमति निकाल्ने न्यौपानेको भनाइ थियो ।