


दमौली, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । व्यास नगरपालिका–१३ बेनीकोटमा बुधबार आयोजित वडा अधिवेशनको उद्घाटन गर्नुहुँदै वाग्लेले पार्टीमा जनताको आकर्षण बढेकाले पार्टीले बहुमत ल्याउने उल्लेख गरे।
रास्वपाले बहुमत ल्याएर सरकार चलाउन पाए देश विकासमा उल्लेख्य काम गर्ने उनको जिकिर थियो । गत निर्वाचनमा आफू तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएको र आगामी निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव लड्ने इच्छा रहेको वाग्लेले बताए ।
सङ्घीय सांसदले स्थानीय स्तरको विकासका कामभन्दा राष्ट्रिय स्तरका ऐन, कानुन निर्माण गर्नुपर्ने जिम्मेवारी रहेको बताउँदै डा. वाग्लेले भने, “तनहुँ जिल्लाको विकासको काम स्थानीय तहको भएको र केन्द्रबाट घचघचाउने काम भने सांसदले गर्नुपर्छ ।”
विगतमा सत्तामा नहुँदा पनि जिल्लाको विकासका लागि कटिबद्ध भएर लागेको बताउँदै वाग्लेले आगामी निर्वाचनबाट बहुमत ल्याएर सरकार चलाउन पाएपछि जनताले अनुभूति गर्ने खालका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे । उनले भने, “उपनिर्वाचनबाट निर्वाचित भएर छोटो समय काम गर्दा पनि केही सन्तुष्ट हुने खालका योजना सञ्चालन गरेका छौ ।”
