


दमौली, २ माध । म्याग्दे गाउँपालिका–२ स्थित न्यु भिजन युवा क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत राधा माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीलाई शुक्रबार न्यानो कपडा वितरण गरेको छ।
जाडो मौसमका कारण विद्यार्थीहरूको पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले क्लबले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई लक्षित गरी न्यानो कपडा सहयोग गरेको हो। कार्यक्रममा न्यु भिजन युवा क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले विपन्न तथा सहयोगको खाँचोमा रहेका बालबालिकालाई सहयोग गर्नु क्लबको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए।
राधा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप रानाभाटले क्लबको यस कार्यको प्रशंसा गर्दै स्थानीय तहमा रहेका युवा क्लबहरूले शिक्षा र सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए।
