पौष महिनामा तनहुँ प्रहरीका गतिविधि : अपराध नियन्त्रणदेखि समुदाय–प्रहरी साझेदारीसम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पौष महिनामा तनहुँ प्रहरीका गतिविधि : अपराध नियन्त्रणदेखि समुदाय–प्रहरी साझेदारीसम्म

    खबरपुञ्ज संवाददाता

    २ माघ २०८२, शुक्रबार

    दमौली, २ माघ । जिल्ला प्रहरी कार्यालय तनहुँले पौष महिनाभर जिल्लामा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकतामा राख्दै विविध गतिविधि सञ्चालन गरेको जनाएको छ।

    प्रहरीका अनुसार महिनाभर नियमित तथा विशेष गस्तीलाई तीव्रता दिइएको छ । चोरी, ठगी, कुटपिट, घरेलु हिंसा, सार्वजनिक शान्ति भंगलगायतका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    उनका अनुसार यस अवधिमा लागूऔषध नियन्त्रण अभियानलाई विशेष प्राथमिकता दिइएको छ। शंकास्पद स्थान तथा व्यक्तिमाथि जाँच गर्दा लागूऔषधसहित केही व्यक्तिहरू पक्राउ परेका छन्। युवालाई लक्षित गर्दै विद्यालय तथा समुदायस्तरमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

    सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेकजाँच अभियान कडा बनाएको प्रहरी उपरिक्षक कार्कीले बताए। मापसे, ओभरस्पिड, हेलमेट तथा सिटबेल्ट प्रयोग नगर्ने सवारी चालकहरूमाथि कारबाही गरिएको छ। साथै, चालक तथा यात्रुलाई लक्षित गर्दै सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसले दुर्घटना नियन्त्रणमा सहयोग पुगेको प्रहरीको दाबी छ।

    महिनाभर समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा विद्यालयसँग सहकार्य गरिएको थियो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित सचेतनामूलक कार्यक्रममार्फत अपराधबारे जानकारी, उजुरी प्रक्रिया र आत्मसुरक्षाका उपायबारे अभिमुखीकरण गरिएको छ।

    सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक गुनासो सुनुवाइ, उजुरी व्यवस्थापन तथा सूचना प्रवाहमा सुधार गरिएको प्रहरीले जनाएको छ। नागरिकमैत्री सेवा प्रवाहमा जोड दिँदै प्रहरी–नागरिक सम्बन्ध थप मजबुत बनाउने प्रयास गरिएको उल्लेख छ।