तनहुँ–२ः ‘टुरिष्ट’ होइन स्थानीय उम्मेदवार खोजेका छन् रास्वपाका कार्यकर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ः ‘टुरिष्ट’ होइन स्थानीय उम्मेदवार खोजेका छन् रास्वपाका कार्यकर्ता

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८२, शनिबार

    दमौली, ३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-२ मा ६ जना आकांक्षी छन् ।

    तनहुँ क्षेत्र नम्बर १ मा पर्ने भानु–५ मा जन्मिएर चितवन बसाँइ झरेर काठमाडौंलाई कर्मथलो बनाएका इञ्जिनियर श्रीराम न्यौपाने, व्यास नगरपालिका–५ साँगेका डा. शेषरमण न्यौपाने, शुक्लागण्डकी नगरपालिका–६ बस्दै आएका सुनिल वस्याल, शुक्लागण्डकी–६ का राजेश पाण्डे, शुक्लागण्डकी–२ का शंकर पन्त र शुक्लागण्डकी–५ का अर्जुन तिम्लिसिना उम्मेदवारका आकंक्षी हुन् ।

    इञ्जिनियर न्यौपाने रास्वपाको केन्द्रीय उर्जा विभाग प्रमुख हुन् । डा. न्यौपाने रास्वपा प्रदेश समितिको विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुख पदमा रहेर काम गरिरहेका छन् । वस्याल क्षेत्रीय सभापति, पन्त प्रदेश समितिको प्रवक्ता, पाण्डे शुक्लागण्डकी नगर समितिको सचिव र तिम्लिसिना क्षेत्रीय सदस्य हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले टिकट दिलाउने संकेत दिएपछि तनहुँ–२ छिरेका श्रीराम न्यौपाने चुनाव केन्द्रित हुँदै विद्यालयमा स्मार्टबोर्ड, गाउँमा स्ट्रेचर लगायतका सामग्री बाँडेर मतदाता रिझाउने दाउमा दौडिरहेका छन् । केन्द्रीय सदस्य बनाउन असफल भएका वाग्लेले प्रतिनिधि सभाको टिकट जसै दिलाउने वचन दिएपछि गाउँ–गाउँमा पुगेर सहयोग समाग्री बाँड्ने र फोटो खिचाएर सामाजिक सञ्जालमा हाल्ने उनको नियमित कर्म नै हो ।

    कात्तिकदेखि तनहुँ–२ को गाउँ पसेका न्यौपानेले स्वर्णिमकै बलमा टिकट ल्याउने देखिन्छ । तर, श्रीराम ‘टुरिष्ट’ भएको भन्दै यही क्षेत्रको स्थानीय उम्मेदवार उठाउनुपर्ने माग रास्वपाका कार्यकर्तादेखि उम्मेदवारका आकंक्षीहरुको छ । कतिपय असन्तुष्टि त सामाजिक सञ्जालमै पोखिएको छ ।

    शुक्लागण्डकी–८ का संस्थापक वडा सभापति जयराम लम्सालले प्रतिनिधि आफ्नै क्षेत्रको हुनुपर्ने माग राखेका छन् । ‘तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को राजनीतिक इतिहासलाई नियाल्दा विगतदेखि नै पुराना दलहरूले क्षेत्र नम्बर १ मा नअटाएका वा अस्वीकृत व्यक्तिहरूलाई क्षेत्र नम्बर २ मा सारेर उम्मेदवार बनाउने गलत परम्पराले हाम्रो क्षेत्र निरन्तर पछि पर्दै आएको यथार्थलाई नकार्न सकिदैन’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कृपया हाम्रो प्रतिनिधि हाम्रो आफ्नै क्षेत्रको होस् । उम्मेदवार नयाँ सोच भएको, युवा, ऊर्जाशील र कम्तीमा सशक्त शैक्षिक र समाजसेवा पृष्ठभूमि बोकेको होस् । जनताको भावना, अपेक्षा र जनादेशले वास्तवमै के खोजिरहेको छ भन्ने विषयमा गहिरो समझ राख्ने व्यक्ति नै आजको आवश्यकता हो ।’

    ‘२÷ ४ जना स्वार्थ केन्द्रित व्यक्तिलाई बोकेर, चुनावको मुखमा समाजसेवाको खोल ओढी खरानी छर्केर आउने जनतालाई साधन र सिँढी मात्र ठान्ने व्यक्तिको पछि लाग्ने हो भने अहिले जित सुनिश्चित देखिएको तनहुँ क्षेत्र नम्बर २ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित क्षति बेहोर्नु नपर्ला भन्न सकिदैन’, श्रीरामप्रति इंकित गर्दै उनले चेतावनी छ । उनको लेखमा प्रतिक्रिया दिनेहरु पनि स्थानीय उम्मेदवार बनाउनुपर्नेमा जोड दिन्छन् ।

    उम्मेदवारका आकंक्षी शंकर पन्तबाहेक अरु चारै जना आकंक्षीले स्थानीय नै उम्मेदवार बन्नुपर्नेमा एकमत छन् । तर, उनीहरु सार्वजनिक रुपमा भने बोल्दैनन् । ‘हारेपनि जितेपनि मेरो यो ठाउँ हो भनिरहने मान्छे चाहियो । यो गाउँमा भोट माग्दै हिँड्याथे यो ठाउँको जितप्रति जिम्मेवार हुनुपर्छ भन्ने जीवनभर नबिर्सने उम्मेदवरा चाहिन्छ’, उम्मेदवारका एक आकांक्षीले बताए । बाहिरबाट आउनेहरु जहिलेपनि बाहिर नै जान खोज्ने प्रवृत्ति रहने उनको विश्लेषण छ ।

    तनहुँ २ का क्षेत्रीय सभापति सुन्दर बस्यालले जसले टिकट ल्याएपनि आकांक्षी सबैले स्वीकार गर्नुपर्ने बताउँछन् । ‘हामीले नचिनेको, माटोले नचिनेको यो क्षेत्रले नचिनेको व्यक्ति आउदाखेरि विरोध हुनु कुरा स्वाभिक हो । तर, पार्टीले एउटा जिम्मेवारी तोकेर पठाउँछ भने त्यसलाई सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ’, उनले भने । स्थानीयले टिकट पाउनुपर्छ भन्नेलाई स्वभाविक रुपमा लिनुपर्ने घुमाउरो शैलीमा उनले बताए ।

    रास्वपा गण्डकीका प्रवक्ता शंकर पन्तले उम्मेदवार स्थानीय नै हुनुपर्ने माग स्वभाविक भएको बताए । उनले भने, ‘प्रतिनिधि सभाको निर्वाचन जो जहाँबाट पनि उठ्न पाउँछ । श्रीराम न्यौपानेको हकमा के हुन्छ भने उहाँ तनहुँ जिल्लाकै हुनुहुन्छ । पालिक फरक न हो’, उनले भने । श्रीरामलाई ‘टुरिष्ट उम्मेदवार’ भन्नेहरुलाई पन्तले नबुझ्ने मान्छेको संज्ञा दिए ।