तनहुँ– १ मा १६ जनाले दर्ता गराए उम्मेदवारी (सूचीसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ– १ मा १६ जनाले दर्ता गराए उम्मेदवारी (सूचीसहित)

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमौली, ६ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ –१ मा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न दल र स्वतन्त्र गरेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    २०८० को उपनिर्वाचनमा जित हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिले पनि तनहुँ–१ नै आएर उम्मेदवारी दर्ता गराए । त्यतिबेला स्वर्णिमका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले पनि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा दोस्रो भेट तय गरेका छन् ।

    नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले कार्यकाल सकिनै लागेको राष्ट्रिय सभाबाट राजीनामा दिएर उम्मेदवारी प्रस्तुत गरेकी छन् ।

    नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, उज्यालो नेपाल पार्टीका मन्जिल रानाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री जोशी कांग्रेसको कारवाहीमा परेपछि बाबु छोराले हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै आइरहेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी पनि तनहुँ–१ आएका छन् । कञ्जनपुर बेलौरी घर भएका उनले तनहुँबाट राप्रपाको उम्मेदवार बन्दै उम्मेदवारी दर्ता गराए । तनहुँ–१ मा हर्क सम्पाङको श्रम संस्कृति पार्टीले उम्मेदवारी दिएको छ । श्रम संस्कृतिबाट काशीराम गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

    नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, नेशनल रिपब्लिक नेपालका सुमन थापाले उम्मेदवारी दर्ता गराएका हुन् । लेखनाथ खनाल, सन्देश रानाभाट लौडारीले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।