चैत १९ गतेदेखि एसइइ परीक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चैत १९ गतेदेखि एसइइ परीक्षा

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०८२, बिहीबार

    काठमाडौ, ८ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ । बोर्डले हिजो एसइईको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    गएको वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यस वर्ष आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा झन्डै १२ दिन पर सारिएको बोर्डले जानकारी दिएको छ ।

    बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन् । चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ पाठ्यक्रमको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

    जनक शिक्षा सामग्री केन्द्रले आउँदाे फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनकशिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नु परेको बोर्डले जानकारी दिएको छ ।