


दमौली, ९ माघ । तनहुँको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान बोकेको बन्दीपुरमा आगामी फागुन २ गते आयोजना हुन गइरहेको चर्चित सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारीलाई तीव्रता दिइएको छ।
कार्यक्रमको तयारी स्वरुप व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सरोकारवाला, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको उपस्थितिमा बैठक बसेको छ ।
बैठकमा कार्यक्रम स्थलको व्यवस्थापन, मञ्च तथा ध्वनि–प्रकाश (साउन्ड र लाइट) व्यवस्था, दर्शकको आवत–जावत, भीड व्यवस्थापन, सुरक्षा व्यवस्था, आपतकालीन सेवा, सरसफाइ तथा पार्किङ व्यवस्थाका विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार कन्सर्टलाई सफल र व्यवस्थित बनाउन आवश्यक सबै तयारी चरणबद्ध रूपमा अघि बढाइएको छ। दर्शकको सहजताका लागि अनलाइन तथा फिजिकल दुवै माध्यमबाट टिकट उपलब्ध गराइएको छ। कन्सर्टप्रति व्यापक चासो देखिएकाले समयमै टिकट सुरक्षित गर्न संगीतप्रेमीहरूलाई आग्रह गरिएको छ।
नेपथ्य ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न तनहुँसहित छिमेकी जिल्लाहरूबाट दर्शक आउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यस कार्यक्रमले बन्दीपुरको पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार व्यवसायको चलायमानता तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।
