पब्लिक डिबेटका लागि तयार छौँ : केपी ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पब्लिक डिबेटका लागि तयार छौँ : केपी ओली

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८२, आईतवार

    काठमाडौं, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलका नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू तयार रहेको बताएका छन्।

    आगामी निर्वाचनमा नयाँ र पुराना सबै दलहरू मैदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धामा एमाले देश निर्माणको पक्षमा उभिएको दाबी गरे। पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका शीर्ष नेताहरूबीच पारदर्शी बहसको माग उठिरहेको सन्दर्भमा ओलीले यस्तो बहसलाई सकारात्मक रूपमा लिएको स्पष्ट पारे।

    सामाजिक सञ्जालमा फ्रेमिङ गरिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै उनले यस्ता प्रवृत्तिका कारण पनि पब्लिक डिबेटको माग आएको हुनसक्ने बताए। यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि भर्खरै खुलेका नयाँ दलहरूसम्मले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको उल्लेख गर्दै उनले देशको नेतृत्व गर्न चाहने दलहरूको एजेण्डा, विगतको कार्यसम्पादन र भविष्यको रोडम्याप सार्वजनिक रूपमा छलफल हुनुपर्नेमा जोड दिए।

    “यसअघि हामीले के–के गर्‍यौँ र अब कसरी काम गर्छौँ भन्ने विषयमा तथ्य र एजेण्डासहित आमने–सामने बहस गर्न म तयार छु,” ओलीले भने। उनले निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार बनेका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न सोधिने पब्लिक डिबेट आयोजना गर्न आग्रहसमेत गरे ।