


सिड्नी, १२ माघ । डिजिस्कूल ग्लोबल नेपाल र डिजिस्कूल अष्ट्रेलियाबीच आपसी सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित सिड्नीस्थित टाउनहलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तीकरण’ भन्ने नाराका साथ डिजिस्कूल अष्ट्रेलियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सूचना प्रविधि, ई–कमर्स तथा डिजिटल सीप विकाससम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।
सफ्टवेरिका कलेज, युनिक्याम्पस ग्लोवल तथा डिजिस्कूल अष्ट्रेलियाको सहकार्यमा आयोजित कार्यक्रममा नेपालबाट आएका प्रतिनिधिहरू, अष्ट्रेलियामा रहेका शिक्षाप्रेमी, विद्यालय तथा कलेजका प्राध्यापक, उद्यमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा उद्योगपति राजेन्द्र मल्लले डिजिटल शिक्षा वर्तमान आवश्यकता मात्र नभई भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै डिजिस्कूलको पहल सराहनीय रहेको बताए।
कार्यक्रममा डिजिस्कूल ग्लोबल नेपालका अध्यक्ष, शिक्षा समूह नेपालका पूर्व पदाधिकारी, शिक्षा विज्ञ तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। डिजिस्कूल अष्ट्रेलियाका निर्देशक सन्देश राजभण्डारीले अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड, क्यानबेरा, होबार्ट र डार्विन लगायत प्रमुख शहरहरूमा डिजिस्कूल अष्ट्रेलियाले डिजिटल शिक्षा विस्तार गर्दै आएको जानकारी गराए।
उनका अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल मार्केटिङ, आईटी, ई–कमर्स कोर्सहरू सञ्चालन हुँदै आएका छन्।
डिजिस्कूलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजु बानियाँ ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा डिजिस्कूल अष्ट्रेलिया टिमप्रति धन्यवाद व्यक्त गरे।
डिजिस्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजिस्कूललाई आगामी दिनमा अमेरिका, अष्ट्रेलिया लगायत अन्य मुलुकहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए।
डिजिस्कूल अष्ट्रेलियामार्फत विद्यालय तहका विद्यार्थीहरूलाई भर्चुअल माध्यमबाट आईटी तथा कोडिङ शिक्षा प्रदान गरिनेछ। साथै, छिट्टै ग्लोबल आईटी सर्टिफिकेसन कार्यक्रमहरू सञ्चालन गरिने, जसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीप हासिल गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसै अवसरमा सन्देश राजभण्डारी नेतृत्वको टोलीले आफ्नै जन्मथलो दमौलीमा युनिक्याम्पस ग्लोवल दमौली स्थापना गर्न लागिएको औपचारिक जानकारी सार्वजनिक गरिएको छ।