


दमाैली, १५ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जना विरुद्ध सात दिनको म्याद थप गरिएको छ । हत्या अभियोगमा पक्राउ परेका कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपाली विरुद्ध तनहुँ अदालतबाट बुधबार सात दिनको म्याद थप गरिएको हो ।
निज विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ ।
गत पुस २६ गते बिहान ९ः३० बजेको समयमा सेती नदीस्थित कसेरीघाटमा तीन जनाको शव हत्या गरेको अवस्थामा भेटिएको थियो ।
शुक्लागण्डकी फोहोर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी नगरपालिका–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको थियो ।
घटनापश्चात् क्रममा तालिम प्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञ सहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो । नामथर र वतन नखुलेको पुरुष व्यक्तिको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शव गृहमा सुरक्षित राखिएको छ ।