तनहुँ–१ मा उम्मेदवार मन्जिल भन्छन् – मलाई जेन–जीको साथ छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा उम्मेदवार मन्जिल भन्छन् – मलाई जेन–जीको साथ छ

    खबरपुञ्ज संवाददाता

    २० माघ २०८२, मंगलवार

    दमौली, २० माघ । तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका मन्जिल रानाले आफूसँग जेन–जी (नयाँ पुस्ता) को बलियो साथ रहेको दाबी गरेका छन् । रानाले राजनीति अब पुरानो शैलीबाट अघि बढ्न नसक्ने र नयाँ सोच, प्रविधि र ऊर्जाशील युवाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    उनले सांसदको भूमिकाबारे स्पष्ट धारणा राख्दै भने, “सांसदको काम सिधै विकास गर्ने होइन, नीति बनाउने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । तर नीति बनाउँदा पनि त्यसले तनहुँका जनताको दैनिकीसँग जोडिनुपर्छ । जनताले महसुस गर्ने खालको काम हुनुपर्छ ।”

    रानाका अनुसार नीति निर्माण र जनताको आवश्यकता बीचको दूरी घटाउनु नै आफ्नो मुख्य उद्देश्य हो । “काठमाडौँमा बसेर नीति बनाउँदा गाउँ, बस्ती र नागरिकका समस्या बिर्सनु हुँदैन,” उनले भने, “त्यसैले म तनहुँका जनतासँग निरन्तर जोडिने, उनीहरूको आवाज संसदसम्म पुर्‍याउने काम गर्छु ।”

    उम्मेदवार रानाले संघीय सांसद र स्थानीय तहबीच समन्वयको अभावकै कारण धेरै विकास योजना प्रभावकारी हुन नसकेको उल्लेख गरे । “स्थानीय तहका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिसँग सहकार्य गरेर काम गर्ने हो,” उनले भने, “समन्वय भयो भने नीति पनि बलियो हुन्छ, कार्यान्वयन पनि सहज हुन्छ ।”

    युवामैत्री राजनीति, पारदर्शिता, जवाफदेहिता र प्रविधिको प्रयोग आफ्नो प्राथमिकतामा रहेको बताउँदै रानाले जेन–जी पुस्ता राजनीतिप्रति सचेत र प्रश्न गर्ने अवस्थामा पुगेको उल्लेख गरे । “आजको युवा केवल भाषण सुन्ने होइन, परिणाम खोज्ने पुस्ता हो,” उनले भने, “त्यही कारण जेन–जीले मलाई साथ दिएको छ ।”