


दमौली, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको बढ्दो लोकप्रियताबाट अन्य राजनीतिक शक्तिहरू डराएको बताएका छन्। देशैभर रास्वपाप्रति जनताको आकर्षण तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै उनले पार्टीविरुद्ध योजनाबद्ध रूपमा हिलो छाप्ने काम भइरहेको आरोप लगाए।
बिहीबार डुम्रेमा आयोजित कार्यक्रममा डा. वाग्लेले भने, “हाम्रो विरुद्ध हुँदै नभएका कुराको प्रचार गरिँदैछ। तर यस्ता गतिविधिले रास्वपाको लहर रोक्न सक्दैन।” उनका अनुसार देशभर रास्वपाको समर्थन बढ्दो क्रममा छ र संसदीय व्यवस्थामा अहिलेसम्म नदेखिएको किसिमको उभार आउँदैछ।
उनले रास्वपा आम जनताको आशा र भरोसाको केन्द्र बन्दै गएको दाबी गर्दै आगामी दिनमा पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरे।
